loader

Breaking News

अनितको आह्वान : फेरि एकपटक जिम्बाको स्वागत

Image
 

फेरि एकपटक गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाको भनाइलाई दार्जीलिङका विधायक निरज जिम्बाले स्वागत जनाएका छन्।
जातीय एकीकरणमाथि सबै एक हुनुपर्ने थापाको आह्वानलाई जिम्बाले स्वागत जनाएका छन्। यसअघि पनि जिम्बाले जीटीए पक्षबाट स्व. सुवास घिसिङ सर्वोच्च नागरिक सम्मानको थालनी गरिएको पहलप्रति अनित थापाको मुग्धकण्ठले प्रशंसा गरेका थिए। 
यसपल्ट पनि जिम्बाले गोर्खा जातीय एकीकरणमाथि पहाड़का सबै राजनैतिक दलहरूलाई एक हुनुपर्ने गरेको थापाको आह्वानलाई हृदयबाटै स्वागत जनाएका छन्।
उल्लेखनीय छ, गत 9 सेप्टेम्बरको दिन खरसाङ महकुमाको मङ्पूमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस कार्यक्रमको अवसरमा पत्रकारहरूसँग बोल्दै पार्टी प्रमुख अनित थापाले आउँदो वर्ष 2026 मा हुने जाति जनगणनामा गोर्खा जाति समुदायका सबै जातगोष्ठीलाई एक हुनुपर्ने अनि यस पहलमा पहाडका सम्पूर्ण पार्टीहरूलाई एक भई कार्य गर्नुपर्ने आह्वान गरेका थिए। यस्तो स्थितिमा हामी जात-जातमा टुक्रियौँ भने धेरै समस्या हुने तिनको भनाइ थियो।  
राजनीति, सिद्धान्त बेग्लाबेग्लै भए पनि जातिलाई पर्दा चाहिँ हामी सबै एक हुनुपर्छ भन्दै थापाले भारतभरिका गोर्खाहरूले दार्जीलिङलाई हेर्ने भएकाले यहाँका सबै पार्टीहरू एक हुनुपर्ने मन्तव्य पोखेका थिए। 
अनित थापाद्वारा पहाड़का सबै दलहरूलाई गरेको एकताको आह्वान राजनीतिक उद्देश्यबाट मुक्त छ भने त्यो एकदमै स्वागतयोग्य छ भन्दै  थापाको आह्वान वास्तविक जातीय हितमा रहेको हुने जिम्बाले बताए। 
यसैबिच, थापाले चारैपट्टि आफ्नो दृष्टि राखेर अनि सबैको मनोस्थिति र मनोदशा हेरेर नै उक्त कुरा गरेको हुनुपर्ने उनको भनाइ थियो।


Leave a Comment